गठबन्धन सरकारले गरेको ज्यादतीका कारण जनताले एमाले नेतृत्वको सरकार सम्झन थालेका छन्ः अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले गरेको ज्यादतीका कारण जनता एमाले नेतृत्वको सरकार सम्झन थालेको बताउनु भएको छ । जनसंगठन समन्वय संयन्त्रको आयोजनामा आज पार्टी केन्द्रीय कार्यालय च्यासनलमा जनसंगठनका अध्यक्षहरुसँगको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
‘गठबन्धनका नाममा मुलुकमा जे–जस्ता ज्यादती भैरहेका छन् त्यसबाट दिक्क भएर जनताले एमाले नेतृत्वको सरकार सम्झिन थालेका छन् । गठबन्धनका गतिविधिले अहिलेको सरकार जनता र देशको हितमा छैन भन्ने प्रष्ट भएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रा निम्ति यो परिक्षा जस्तो पनि भएको छ । जनताले एमाले नेतृत्वको सरकार जनहितमा थियो भन्ने थप थाहा पाएका छन् ।’
बैठकलाई सम्वोधन गर्दै ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै जित्ने गरी तयारी तीब्र पार्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ ।
‘चुनावको परिणाम हेर्दा एमाले हार्यो भन्दै बिरोधीहरु प्रचार गरिरहेका छन तर हामीले चुनाव हारेका होइनौं, जितेका छौं, हामीसँग एक्लै लडन सक्ने ताकत कसैसँग भन्ने सन्देश निर्वाचनले दिएको छ,’ उहाँले भन्नुभयो, ‘अब पनि एक्लै लडने आँट कसैले गर्दैन । कसैले पनि एमालेसँग एक्लै भिडने आँट गर्दैन ।’
देशभित्र र बाहिरका सवै शक्ति लगाउँदा पनि एमाले हराउन नसकेको स्मरण गराउँदै अध्यक्ष ओलीले भन्नुभयो,’ ‘यत्रो घेरावन्दी हुँदा पनि हामी एक्लै लडेर जीत हासिल गरेका छौं । हामी कमजोर होइनौँ । त्यसैले बिजयी मानसिकताका साथ अगाडि बढनोस ।’ अध्यक्ष ओलीले अहिलेको गठबन्धनले देशलाई बर्वाद बनाउने बाटोमा लागेको र मुलुकप्रति ध्यान नै दिन छडेको बताउनुभयो ।
उहाँले बजेट बनाउँदा सेटिङ गरेर अन्तराष्ट्रिय रुपमा कतै नभएको बेइमानी, गर्दै राष्ट्रिय ढुकुटीमाथिको डकैती गरेको बताउँनुभयो । ‘व्यापारिक घरानाका प्रतिनिधि राखेर, बिचौलियाका एजेन्ट राखेर मोलमोलाइ गरेर करका दरहरु परिवर्तन गरियो,’ उहाँले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकारले कोभिडको त्यस्तो महामारीमा पनि सवै सूचकहरु तल जान नदिएर काम गरेको थियो ।’ अध्यक्ष ओलीले एमालेको बिचार, उदेश्य र गन्तव्य सही छ भन्दै यस अभियानमा सम्पूर्ण जनतालाई गोलबन्द गर्दै अहिलेको गठबन्धनलाई पराजित गर्नुपर्ने बताउनुभयो ।
