जेठ १४ को सीसीटीभी फुटेज रिकभर भयो, मान्छेहरूको पहिचानमा मुस्किल
काठमाडौँ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराएको भनिएको १४ जेठको सीसीटीभी फुटेज रिकभर भएको छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन समितिमा पठाएको हो ।
प्रयोगशालाबाट प्राप्त भिडिओ फुटेजहरू आज बिहान बसेको बैठकमा समिति सदस्यहरुले हेरेका थिए । १४ गते रातिको फुटेज भेटिएको तर, उक्त दृष्यमा मन्त्रालयभित्र रहेका मान्छेहरूको पहिचान हुन नसकेको एक सांसदले जानकारी दिनुभएको छ । ‘रातिको दृष्यमा मान्छेहरूको अनुहार प्रष्ट चिनिएको छैन,’ उहाँले भन्नुभयो, ‘यसलाई थप प्रष्ट पार्नका निम्ति हामीले विज्ञहरूसँग बसेर छलफल गर्ने निर्णय लिएका हौं ।’
समितिले यस विषयमा एक्सक्लुसिभ समाचार लेख्ने पत्रकारसँग पनि थप सहयोग मागेको छ । अन्नपूर्ण पोष्टका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग समितिले सहयोग मागेको हो । पत्रकारहरूले आफूहरूसँग अर्थमन्त्रालयमा घुसपैठको प्रमाण रहेको बताइरहेका छन् । तर, समितिलाई उपलब्ध गराउन चाहेका छैनन् ।
