वसन्तपुरमा आजदेखि हस्तकला मेला आरम्भ

काठमाडाैं, १८ कात्तिक । काठमाडाैंकाे हनुमानढोका परिसर वसन्तपुरमा ‘नेपाली उत्पादन, नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आजदेखि हस्तकला मेला आरम्भ भएकाे छ ।

नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा ‘नेपाली उत्पादन, नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आजदेखि हनुमानढोका परिसर वसन्तपुरमा हस्तकला मेला सुरु गरिएकाे हाे ।

मेलाको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले पुराना सम्पदा र संस्कृतिको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउँदै
हस्तकला क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्री श्रेष्ठले हस्तकला क्षेत्रको दीर्घकालीन विकासका लागि हस्तकला ग्राम स्थापना गर्न प्रदेश सरकारले अध्यादेशमार्फत ऐन पारित गरेको जानकारी दिनुभयो । बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेले घरेलु उद्योगको प्रवद्र्धन गर्दै महिला उद्यमीलाई अगाडि बढाउनका लागि बागमती प्रदेश सरकारले विभिन्न कार्यक्रम अगाडि बढाएको बताउनुभयो । उहाँले लोप हुन लागेका हस्तकला प्रविधिलाई जगेर्ना गर्न प्रदेश सरकार लागेको स्पष्ट पार्नुभयो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले महिला उद्यमीबाट उत्पादित हस्तकलाका वस्तुको आन्तरिक बजार प्रवद्र्धनका लागि उक्त मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष शाक्यले वार्षिक रु १२ अर्बको हारहारीमा विदेश निर्यात व्यापार गरिरहेको हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी आठ लाखभन्दा बढी व्यक्तिलाई रोजगारी प्रवद्र्धन गरको भन्दै हस्तकला उद्योग व्यवसायको संरक्षण र सम्वद्र्धनका लागि बागमती सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आजदेखि सुरु भएको तीनदिने प्रदर्शनीमा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, हातेकागज, फेल्ट, पश्मिनाका सामाग्रलगायत हस्तकलाका सामग्री प्रदर्शनमा राखिएका छन् ।

महासङ्घले नेपाली हस्तकला वस्तुको आन्तरिक बजार विकास र निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आगामी मङ्सिर २३ देखि २७ गते सम्म होटल ह्यात रिजेन्सी बौद्धमा १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता आयोजना हुने भएको छ ।