वाणिज्य बैंकको मुद्दती निक्षेप १५.३ प्रतिशतले घट्यो
काठमाडौं, २ मंसिर । वाणिज्य बैंकहरूमा अधिक तरलता भएपछि मुद्दती निक्षेप घट्न थालेको छ । रेमिट्यान्स आप्रवाहमा सुधार, कर्जाको न्यून माग र निक्षेपको ब्याजदर घटेका कारण सर्वसाधारणले मुद्दतीको रकम बचत खातामा सार्न थालेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको चल्ती निक्षेप २९.९ प्रतिशत र बचत निक्षेप ४५.६ प्रतिशतले बढ्दा मुद्दती निक्षेप भने १५.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष मुद्दती निक्षेप २ प्रतिशतले घटेको थियो ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले बैंकहरूले निक्षेप आकर्षित गर्न ब्याजदर बढाउनुपर्ने अवस्था छैन । बचत र मुद्दती निक्षेपको ब्याजदरबीचको अन्तर कम भएपछि निक्षेपकर्ताले मुद्दतीभन्दा बचत खातालाई प्राथमिकता दिएको राष्ट्र बैंकले जनाएको छ ।
गत आवमा वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १३.९ प्रतिशतले बढेर ९२ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । कुल निक्षेप १४.६ प्रतिशतले वृद्धि भई ७४ खर्ब ८८ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ ।
तर, कर्जा तथा लगानीको वृद्धिदर भने घटेको छ । समीक्षा अवधिमा कर्जा तथा लगानी ४.२ प्रतिशतले बढेर ६५ खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर ७.२ प्रतिशत थियो ।
निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले बढेर तीन खर्ब १७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि ८.६ प्रतिशत थियो । जीडीपीसँग निजी क्षेत्रको कर्जाको अनुपात ७८.८ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरूले प्राथमिकताप्राप्त क्षेत्रमा कुल कर्जाको ३८.१४ प्रतिशत अर्थात् १९ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ प्रवाह गरेका छन् । यसमध्ये कृषि क्षेत्रमा १३.१२ र गैरकृषि क्षेत्रमा २५.०२ प्रतिशत कर्जा गएको छ ।
सरकारी ऋणपत्रमा बैंकहरूको लगानी ९.२ प्रतिशतले घटेर ९ खर्ब ३६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । सरकारी ऋणपत्रमा गरिएको लगानीसहित बैंकहरूको तरल सम्पत्ति १८ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो कुल निक्षेपको २४.०६ प्रतिशत हो ।
यसैगरी, विदेशी बैंकमा रहेको मौज्दात ६२.३ प्रतिशतले बढेर चार खर्ब २० अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने राष्ट्र बैंकमा रहेको मौज्दात १.३ प्रतिशतले घटेर तीन खर्ब ५९ अर्ब तीन करोड रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।
