नेप्सेमा लगातार तेस्रो दिन गिरावट, २६२५ विन्दुमा झर्‍यो परिसूचक

काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिन पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो ।

बुधबार नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १.०६ अंक, फ्लोट इन्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३४ अंकले घटेका छन् ।

नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन मंगलबार चार अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ३४७ कम्पनीका एक करोड एक लाख ६२ हजार कित्ता सेयर चार अर्ब १५ करोड ४९ लाख रुपैयाँमा खरिदबिक्री भएका छन् । दिनभर ४१ हजार ६२७ पटक कारोबार भएको थियो ।

यस दिन एभरेष्ट कलरको सेयर मूल्य सर्वाधिक ८.६३ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावरको मूल्य साढे ६ प्रतिशतभन्दा बढी र भिजन लुम्बिनी ऊर्जाको मूल्य साढे ५ प्रतिशतले घटेको छ । मूल्य बढेका कम्पनीको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३२ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको करिब साढे १८ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये बैंकिङ र म्युचुअल फन्डको परिसूचक सामान्य बढेको छ भने बाँकी ११ उपसमूह घटेका छन् । व्यापार उपसमूह सर्वाधिक २.४९ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *