सामान्य अङ्कले घट्यो नेप्से, दुई अर्ब बढीको कारोबार

काठमाडाैं, २१ कात्तिक । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचकमा आज भने सामान्य अङ्कको गिरावट देखिएको छ ।

यस अघि भदौ ३० गते, २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। सोपश्चात, यस दिन नै कारोबार रकम २ अर्ब रुपैयाँ नाघेको हो।

यस दिन नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।

सोमबार धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.१३ प्रतिशत बढेको छ। त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य यस दिन करिब ७ प्रतिशत बढेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य साढे ४ प्रतिशत बढेको छ। यस दिन ग्लोबल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ। यस्तै, आशा लघुवित्त, एनआईसी एशिया लघुवित्त र शिवम् सिमेन्ट्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन १५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। लघुवित्तले ७३ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यस लघुवित्त तर्फ आकर्षित भएका हुन्। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेष्डो समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ भने लगानी, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको विकास बैंक, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *