नमोबुद्धमा हजारौँ बौद्ध धर्मालम्बीले मेला भर्दै

काभ्रेपलाञ्चोक, २२ कात्तिक । कात्तिक शुक्ल पूर्णिमाका दिन आज काभ्रेपलाञ्चोकको नमोबुद्धमा मेला लागेको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ ।

बुद्धले लुम्बिनीमा पुर्नजन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको मानिएको किंबदन्ती छ । द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्ने बौद्ध धर्मालम्बीको निकै ठूलो भिड लागेको हो ।

सोमबारदेखि लागेको मेला बुधबारसम्म एक लाखभन्दा बढीले नमोबुद्धको दर्शन-पूजाअर्चना गर्ने मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेलामा परम्परागत गीत–नृत्य देखाइएको थियो । कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष मेला हुन नसकेको र यसपटक मेलामा घुइँचो लागेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताउनुभयो ।

उहाँका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बालिन्छ । “वर्षेनी पितृका नाममा बत्ती बाल्दै आएका छौँ, यो वर्ष पनि आएका छौँ”, तेमालको रुप्साङ लामाले भन्नुभयो । उहाँ परिवारसहित सोमबार नै नमोबुद्ध आउनुभएको हो ।

विशेष गरी तामाङ र नेवार समूदायका धर्मालम्बी मेलामा बढी सहभागी हुने नमोबुद्धका मूल लामागुरु कान्छा लामाले बताउनुभयो ।

उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो शरीरको रगत र शरीरको मासु खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गर्नुभएको किम्बदन्ती रहेकाे पाइन्छ ।

सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको उहाँको भनाइ छ । “पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी मानिन्छ भने पाँच डमरु भिक्षु भएका थिए”, लामागुरु लामाले भन्नुभयो । उहाँका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताउनुभएको किंबदन्ती छ ।

संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति रहेको छ ।

नमोबुद्धमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडाैं, धादिङ, नुवाकोटलगायतबाट मानिसहरु मेला भर्न आउने गरेकाछन् ।

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमाबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दीपङ्कर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ ।

नमोबुद्ध क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेको छ । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर रहेको छ ।