नेप्से २.५७ अंक संगै कारोबार रकम पनि घट्यो

काठमाडाैं,२२ कात्तिक । मंगलबार नेप्से परिसूचक सामान्य अंक घटेको छ। यस दिन नेप्से २.५७ अंक घटेर १९५६.३६ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१२ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २२६ स्टकको १८ हजार ४७२ पटकको कारोबारमा १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको २७ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४.२२ प्रतिशत बढेको छ। त्यसैगरी, गुराँस लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनी र बलेफी हाइड्रोपावरको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कालिका लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.७७ प्रतिशत घटेको छ भने मन्दाकिनी हाइड्रोपावर र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५६ प्रतिशत घटेको छ।