उम्मेदवारहरूलाई चितवने जनताको प्रश्नः वन्यजन्तुको मारबाट मुक्ति कहिले ?

भरतपुर, २३ कात्तिक । मंसिर ४ गते हुने निर्वाचनमा उठेका उम्मेदवारहरू मतदातालाई बाटो बनाइदिन्छु, पूल बनाइदिन्छु भनी आश्वासन दिइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका मतदाता भने विकास निर्माणभन्दा पनि चितवनका वन्यजन्तुको समस्याबाट आफूलाई मुक्त गरिदिनु प¥यो भनेर अनुरोध गरिरहेका छन् ।

मङ्गलबार भोट माग्दै भरतपुरका विभिन्न क्षेत्र पुग्नुभएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज अधिकारी समक्ष स्थानीय मतदाताले यस्तो माग अघि सारेका हुन । गोब्रेनीका स्थानीय सीतामान तामाङले भन्नुभयो, ‘बँदेलले खेती खायो, गैँडा, चित्रीले पनि हैरान बनायो, तार लगाउनपर्छ, डा साबले पहल गरिदिनुहोला ।’ उहाँले नारायणी तटबन्धलाई कार्यान्वयन गरेर बाढीको समस्या समाधान गरिदिन पनि आग्रह गर्नुभयो ।

स्थानीय ज्योति रानाले निकुञ्जमा पक्की तारबार लगाउने कामलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । तर अर्का स्थानीय प्रकाश खड्काले भने हरेक निर्वाचनमा आश्वासन पाएको तर काम भने नभएको गुनासो गर्नुभयो । हरेक निर्वाचनका बेला आफूहरूले वन्यजन्तुको समस्या अघि राख्दै आइरहेको उहाँले बताउनुभयो ।

चितवनको माडी नगरपालिकामा घरदैलो गरिरहनुभएका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई पनि स्थानीयले वन्यजन्तुबाट हुने धनजनको क्षति कम गर्न के गर्न सक्नुहुन्छ भनेर प्रश्न गरेका छन् । जवाफमा कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका सबै ठाउँमा पक्की वालसहितको तारबार लगाउने बताउनुभयो । माडीको धोवाहामा वन्यजन्तुले हरेक वर्ष बाली खाने गरेको स्थानीय राकेश चौधरीले गुनासो गर्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने वन्यजन्तुले सबैभन्दा बढी धनजनको क्षति माडीभित्र नै गर्ने गरेको छ । निकुञ्जले घेरेको माडीका मतदाताको उम्मेदवारसँग पहिलो अपेक्षा नै वन्यजन्तुको त्रासबाट मुक्त हुन पाउँ भन्ने छ ।

चितवनको माडी वडा नम्बर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको गुनासो सेरुवाकी किसान गीता महतोले व्यक्त गर्नुभएको छ ।
काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यस वर्ष के खाने भन्ने चिन्ता थपिएको बताउँदै उहाँँले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गर्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि उम्मेदवारले निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सबै मध्यवर्ती क्षेत्रमा पक्की वालसहितको तारबार लगाउन सके धनजनको क्षति कम हुने बताउनुभयो ।

उहाँले निकुञ्जले प्रदान गर्ने क्षतिपूर्ति पनि कम र झन्झटिलो रहेको भन्दै मध्यवर्तीका नागरिकलाई जीविकोपार्जन र आयआर्जनमा जोड्नुपर्ने बताउनुभयो । चुनाव आउन अब केही दिन बाँकी हुँदा आफ्नो दैलोमा आउने हरेक राजनीतिक दलहरुलाई यहाँका जनताले वन्यजन्तुको समस्याबाट कहिले मुक्त हुने भनेर नै मुख्य प्रश्न राख्ने गरेका छन् ।

जंगलभित्र गैंडा, हात्ती, बाघ आदि जस्ता वन्यजन्तुको संख्या थपिएको समाचार आउँदा वन्यजन्तु संरक्षकहरू खुशी भए पनि यहींकै स्थानीय जनता भने थप त्रासमा पर्ने हुन थालेका छन् ।

(राससको सहयोगमा)
–––