नेप्सेमा भारी गिरावट, कारोबार रकम भने बढ्याे

काठमाडाैं, २३ कात्तिक । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिनमा भारी गिरावट भएकाे छ। गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्सेले यस दिन भारी गिरावट भएकाे हाे ।

यस दिन नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन नेप्सेमा २२३ स्टकको १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको ३६ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.४२ प्रतिशत बढेको छ। त्यसैगरी, नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाईमूल्य ४.३९ प्रतिशत बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य २.२२ प्रतिशत बढेको छ। यस दिन एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोग्रेशिभ फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरी र नेपाल पुनर्बीमा कम्पनीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७३ प्रतिशत घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *