धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै

तनहुँ, २४ कात्तिक । तनहुँका धान पकेट क्षेत्रका किसान चामल किनेर खान बाध्य भएका छन् ।अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ ।

‘पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ’ । ‘पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो । अहिले बास्ना पनि कम आउने र कम गुलियो छ ।’

कृषक ओझा प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने चलन नै हराएको बताउनुहुन्छ । विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन पर्याप्त हुनुका साथै स्वादिलो हुने गरेको उहाँको भनाइ छ । “पहिले रासायनिक मल भन्ने नै थाहा थिएन । गोठ नै खेतबारीमा राखिन्थ्यो । प्राङ्गारिक मलले उत्पादन पर्याप्त हुन्थ्यो । स्वादिलो हुन्थ्यो । ढिकी, झाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानी पिसानी हुँदा स्वाद फरक परेको जस्तो लाग्छ ।”

अहिले खेतीपाती गर्न खर्चिलो छ । रासायनिक मलको प्रयोग गरिन्छ । त्यो किन्नै पर्यो । अहिले गाईवस्तु पाल्ने, मल उत्पादन गर्ने प्रचलन हराएको छ । अनि कसरी राम्रो उत्पादन होस् । यो दुःख गर्नुभन्दा बजारको चामल सस्तो पर्छ ।, ओझा भन्नुहुन्छ, ‘भकारीको धान निकाल्नुभन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् अचेल । दुःख किन गर्छन् र ?’

आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उहाँ भन्नुहुन्छ, अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानुपरेको छ । विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले बताउनुभयो । केही वर्षदेखि आफूले खेती गर्न नसकेको उहाँ बताउनुहुन्छ ।

उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्याप्त नहुने अग्रज किसान ओझाको अनुभव छ । उहाँले अहिले पनि केही खेतमा धान रोप्ने गर्नुभएको छ तर काम गर्न सक्ने अवस्था नभए पनि ज्याला र ट्र्याक्टर लगाएर खेती गर्दै आउनुभएको छ । खेती नगर्न छोरा, बुहारी, नातीनातिनाले सुझाव दिने गरेको उहाँ बताउनुहुन्छ ।

यस्तै व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताउनुभयो । “खेतीपाती गर्न सकिदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । जसले गर्दा भएको जग्गा जमिन बाँझो भएका छन् र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ”, शाहीले भन्नुभयो ।

बजारबाट किनेको चामलको मूल्यभन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवापुस्ताले चासो दिन छाडेको अगुवा कृषकको बुझाइ छ । आफैँले खेतीपाती गर्दा उत्पादनभन्दा लागत बढी लाग्ने भएकाले विदेशिने वा बजारमा काम गरेर चामल किनेर खाने चलन बढ्दै गएको उहाँहरुको भनाइ छ ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताउनुभयो । धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि हुँदैन । जसले गर्दा धान खेतीमा युवाको चासो छैन, उहाँले भन्नुभयो । साना किसानको धान बिक्री नै नहुँदा पनि उत्पादन घट्ने क्रममा रहेको उहाँको भनाइ छ ।

जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताउनुभयो । सरकारले यसको नियन्त्रणका लागि रणनीतिक योजना तयार गर्नुपर्ने उहाँको भनाइ छ ।

कृषि पेसालाई बचाइ राख्न कम्पनी मोडेलको योजना सरकारले बनाउनतर्फ ध्यान दिनुपर्ने अवस्था देखिएको तिवारीले बताउनुभयो । “कृषि पेसालाई कम्पनी मोडेलतर्फ विकास गर्न सकिएन भने कृषि प्रधान देशमा नै अध्ययनको विषय बन्न सक्ने सम्भाव्यता बढेको छ”, उहाँले भन्नुभयो । कृषि प्रधान देशमा नै कृषि पेसा अध्ययनको विषय बन्ने अवस्थामा पुग्न नदिन किसानसँग सम्बन्धित रहेका पक्ष सचेत हुन आवश्यक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *