एकदिवसीय शृंखलामा युएई ६ विकेटले पराजित

काठमाडौं, २ मंसिर । दुई देशबीचको एकदिवसीय शृंखलाको उपाधि नेपालले जितेको छ। शुक्रबार भएको निर्णायक खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेकाे हाे ।

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । ज्ञानेन्द्र मल्ले ७३ बलमा ३ छक्का र ७ चौकाको मदतले ६४ रन बनाउँदा आशिफले अविजित ८८ रन बनाए। ११९ बलको सामना गरेका उनले १२ चौका प्रहार गरेका थिए।

युएईका लागि हजरत बिलाल र आयान खानले १/१ विकेट लिनुबाहेक अन्य बलरले सफलता पाउन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो।

आयानबाहेक आलिशान सारफूले ३३, रोहन मुस्तफाले २४ र हजरत बिलालले २० रन बनाएका थिए। ३२ औँ ओभरमा कुल स्कोर ९३ रन हुँदा नवौँ विकेट गुमाएको युएईका लागि आयान खान र हजरत बिलालले महत्वपूर्ण ८३ रनको साझेदारी गरेर सम्मानजनक स्कोर बनाएका थिए।

नेपालका गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए भने ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिएका थिए।

यसअघि भएको पहिलो खेलमा युएई विजयी भएको थियो भने दोस्रो र तेस्रो खेलमा लगातार नेपालले जित निकालेको हो। यतिवेला आइसिसीको एकदिवसीय वरीयताअनुसार युएई १५ औँ र नेपाल १९ औँ स्थानमा रहेका छन्।

घरेलु मैदानमा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला हासिल गरेको पहिलोपल्ट हो । यसअघि गत वर्षको चैतमा पपुवा न्युगिनीविरुद्धको पहिलो घरेलु एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले २–० ले गुमाएको थियो ।