यस वर्षकै चिसो काठमाडौं : आजकाे न्यूनतम तापक्रम ३.४ डिग्री

काठमाडौं, १३ पुस ।आज काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम मापन गरिएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएकाे हाे ।

देशको प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको कारण प्रदेश १ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु-कुहिरो लागिरहेको छ। माैसम मध्यान्न पछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएकाे छ ।

चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेको छ।

हिजो साँझ ५.४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएकाे थियो।