छलफलले टुंग्यायाे मन्त्रालय भागवण्डा : एमालेलाई ८ राप्रपालाई दुई
काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालयकाे भागवण्डा टुंग्याएकाे छ ।
स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको छ । यसअनुसार एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने छ ।
हाल उपप्रधानमन्त्री रहेका एमालेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् । भागवण्डा नटुंगिएका कारण ११ पुसमा शपथ लिएका एमालेका तीन मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् ।
सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ । माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । अब रास्वपाले स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ । यद्यपि खेलकुदमा माओवादीको पनि दाबी छ ।
राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई एक/एक मन्त्रालय छुट्याइएको छ ।