गृहमन्त्री लामिछानेको सुनुवाई हेर्दाहेर्दैमाः रविले आफूलाई कानूनभन्दा ठूलो ठानेको जिकिर
काठमाडौं, ११ माघ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले पदमुक्त हुनुपर्ने भन्दै परेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । निवेदकको तर्फबाट सुरेन्द्र भण्डारीले रवि लामिछाने अहिले नेपाली मूलका विदेशी नागरिक भएको दाबी गर्नुभयो । उहाँले बहस गर्दै रविले आफूलाई कानूनभन्दा ठूलो ठानेको जिकिर गर्नुभयो ।
‘अमेरिकी नागरिकता त्यागिसकेको निवेदन दिनुपर्नेमा कुनै पनि प्रक्रिया पालना नगरेको, आफूलाई कानूनभन्दा माथि ठानेको छ,’ उहाँले भन्नुभयो, ‘अमेरिकी दूतावासमा पनि नागरिकता त्यागको लागि निवेदन दिएको भनेर अध्यागनलाई जानकारी गराएको अवस्था छ । त्यही भएर उनी नेपाली मूलका विदेशी नागरिक हुन् ।’
सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भए उहाँको सुनुवाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस सकिसक्नु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले भने यो सारवहन व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गर्नुभएको छ ।
‘कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक हुने अवस्था हुँदैन,’ बहस नोटमा भनिएको छ, ‘नेपालको नागरिकतासम्बन्धी व्यवस्थाले नागरिकता विहीनताको परिकल्पना गरेको छैन । निवेदकहरुले मानवीय रवि लामिछाने नेपालको नागरिक होइनन् भन्नुभएको अवस्था छैन ।’ बहस नसकिएकाले शुक्रबारका लागि हेर्दाहर्दैमा बसेको छ ।