एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाबिच शिष्टाचार भेटघाट, के–के भयो कुराकानी ?
काठमाडौं, १६ माघ । नेपाल भ्रमणमा रहनु भएकी अमेरिकाको कुटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
एमाले संसदीय दलको कार्यालय, सिंहदरवारमा करीब आधा घण्टा भएको शिष्टाचार भेटमा उहाँहरुबिच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको थियो । भेटमा सहभागी एमाले परराष्ट्र मामिला विभाग सचिव डाक्टर अञ्जान शाक्यका अनुसार उहाँहरुविच नेपाल र अमेरिकाबिचको दौत्य सम्बन्धनलगायतका विषयमा कुराकानी भएको थियो ।
कुराकानीको सिलसिलामा न्युल्यान्डले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, उर्जा, सामाजिक क्षेत्रलगायतमा सहयोग गर्न आफूहरु तयार रहेको बताउनु भएको थियो ।
भेटमा न्युल्यान्डले मंसिर ४ मा सम्पन्न निर्वाचनका सन्दर्भमा पनि केही जिज्ञासा राखेपछि अध्यक्ष ओलीले नेपालको निर्वाचन प्रणालीलगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
करीब ६० वर्ष अघि स्थापना भएको नेपाल–अमेरिकाबिचको दौत्य सम्बन्धनलाई थप विस्तार गर्दै अघि बढ्ने विषयमा पनि सरकात्मक कुराकानी भएको डाक्टर शाक्यले जानकारी दिनुभयो । नेपालमा उद्योग स्थापनाका लागि आफूहरु सकारात्मक रहेको भन्दै न्युल्यान्डले उद्योग स्थापना, त्यसको सहजिकरण, करलगायतका विषयमा नेपाल सरकारसँग सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।
भेटकै सिलसिलामा न्युल्यान्डले आफ्नो नेपाल भ्रमण पहिलो भएको भन्दै नेपाल आउँदा खुशी लागेको बताउनु भएको थियो । अध्यक्ष ओलीले पनि उहाँलाई नेपाल बसाई सकारात्मक र फलदायी होस् भनी शुभकामना दिनुभएको थियो ।