बालकोटबाट ओली–प्रचण्डको सन्देशः राष्ट्रपतिमा एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति
काठमाडौं, २५ माघ । नेकपा (एमाले) नेतृत्वको गठबन्धनमा केही दरार उत्पन्न भएको भन्ने कोणबाट चर्चा चलिरहेका बेला आज एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच सकारात्मक छलफल भएको छ । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग खटपट भएपछि गत पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको अगुवाईमा प्रचण्ड ७ दल र ३ स्वतन्त्र सांसदसहितको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । त्यसैदिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान–२०७२ को धारा ७६ को उपधारा २ बमोजिम प्रचण्डलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको भएको थियो ।
पुस २६ गते प्रचण्ड नेतृत्वमा बनेको सरकारलाई अभूतपूर्व विश्वासको मत प्राप्त भएको थियो । उहाँको पक्षमा २६८ र विपक्षमा २ मत खसेको थियो । प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद सहभागी हुनुहुन्थ्यो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि थप आशंकाहरु उत्पन्न भएका थिए । यतिसम्मकी कांग्रेसले सभामुख वा राष्ट्रपति आफ्नो पक्षमा लिनका लागि प्रचण्डलाई विश्वासको मत दिएको भन्नेसम्म चर्चा भए ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड सरकारबाट बाहिरिएपछि थप आशंकाहरु उत्पन्न भएका थिए । यतिसम्मकी प्रधानमन्त्री प्रचण्डले ओली नेतृत्वको उच्चस्तरी राजनीतिक संयन्त्रको बैठक बोलाउन समेत आलटाल गरेको भनेर चर्चा भएका थिए । यी विभिन्न आशंकालाई बल पुग्ने गरी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिचको भेटघाट समेत पातलो बन्न थालेको भनेर त्यो कोणबाट पनि चर्चा सुरु हुन थालेको थियो ।
बालकोट–बालुवाटार भेटघाट पनि पहिला जस्तो बाक्लो नभएको हो कि भन्ने आशंका समेत बढ्दै गएका बेला प्रधानमन्त्री प्रचण्ड आज एमाले अध्यक्ष ओलीको निवास बालकोट पुग्नु भयो । करीब ९ बजेदेखि ओली र प्रचण्डबिच करीब ३ घण्टा छलफल भयो । निकै सौहार्दपूर्ण रुपमा भएको भेटघाटमा दुबै नेताको शारीरिक हाउभाउले पनि सकारात्मक सन्देश दिएको थियो । भेटवार्तापछि बाहिरिनु भएका प्रधानमन्त्री प्रचण्डको हाउभाउले पनि वार्ता सकारात्मक रहेको संकेत गथ्र्यो । प्रचण्डले भेटपछि बाहिरिने क्रममा उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बसेर सहज रूपमा कसरी अगाडि बढ्ने पनि जानकारी गराउनुभयो । उहाँले राष्ट्रपतिको विषयमा भोलि छलफल हुने जानकारी गराउनुभयो ।
उच्चस्रोतले दिएको जानकारी अनुसार आज बालकोटमा भएको भेटवार्ता निकै सकारात्मक देखिएको छ । प्रचण्ड उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउन सकारात्मक मात्रै बन्नु भएको छैन । दुई नेताबिच पूर्वसहमति अनुसार राष्ट्रपतिको उम्मेदवार एमालेबाटै हुने र सकेसम्म त्यसैमा राष्ट्रिय सहमति जुटाउने विषयमा समेत सकारात्मक छलफल भएको छ ।
‘दुई नेताहरुबिच निकै सकारात्मक र गहिरो ढंगले कुराकानी भयो,’ स्रोतले त्यहाँको छलफलबारे भन्यो, ‘गठबन्धन दायाँ–बायाँ हुँदैन । कायम नै भएर अघि बढ्छ । पुस १० गते भएको सहमति र समझदारीमा तलमाथि हुँदैन । यो कायम रहन्छ । राष्ट्रपतिमा एमालेकै उम्मेदवार हुन्छ । हाम्रो अधिकतम प्रयास भनेको अरुलाई पनि त्यसमा सहमत गराउने प्रयास हुन्छ ।’ भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिे एमालेको उम्मेदवारका लागि जुटाउने भन्दै ओलीलाई विश्वास दिलाउनु भएको थियो ।
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुँदैछ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर विभिन्न आशंका उत्पन्न भैरहेका बेलाको यो भेट सकारात्मक बन्ने अपेक्षा गरिएको छ ।