सचिवालय बैठक छाडेर ओली सिंहदरबारमा, प्रधानमन्त्रीसँग भेटघाट जारी

काठमाडौं, २६ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सिंहदरबारमा भेट जारी रहेको छ । एमाले मुख्यालयमा जारी एमाले सचिवालय बैठकको विचबाटै ओली सिंहदरबार पुग्नु भएको हो ।
आज दिउँसो ३ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तयारी भएको थियो । आजै एमाले सचिवालय बैठक पनि जारी छ । यसैबिचमा ओली र प्रचण्डबिच छलफल भएको हो । हिजो एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबिच भएको भेट सकारात्मक भएको थियो । त्यसैका आधारमा आज बैठक बस्ने तयारी भएको थियो ।
पछिल्लो समय सत्ता गठबन्धनमा अविश्वास बढ्दै गएको भन्ने आशंका बढिरहेका बेला ओली–प्रचण्ड भेट पनि बाक्लो बन्दै गएको छ । राष्ट्रपतिको निर्वाचन नजिक हुँदै जाँदा उहाँहरुबिचको भेटघाट पनि बाक्लो बन्दै गएको हो । गठबन्धनको सम्झौता अनुसार एमालेले राष्ट्रपति पाउने सहमति भएको छ । तर, पछिल्लो समय नेपाली कांग्रेसले आफ्नो सक्रियता बढाएसँगै विभिन्न खाले आशंका पैदा भएका छन् ।