राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माण
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना
काठमाडौँ, कार्तिक १६ । पश्चिम राप्ती नदीको बहावमा जलवायु परिवर्तन तथा भूउपयोगमा आएको परिवर्तनले पारेको प्रभावलाई न्यूनीकरण गर्दै दिगो नदी व्यवस्थापन गर्ने उद्देश्यले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माणको काम अघि बढाएको छ ।
लमहीस्थित आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा नदी व्यवस्थापनलाई प्रभावकारी बनाउन अध्ययन सुरु गरेको हो । नदीको जलाधार क्षेत्रमा बढ्दो मानवीय गतिविधि, भू–उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका कारण नदीको बहावमा देखिएका परिवर्तनलाई अध्ययनको मुख्य आधार बनाइएको छ ।
बाढीको जोखिम न्यूनीकरण गर्नुका साथै नदी नियन्त्रणका संरचना तथा अन्य पूर्वाधारलाई दिगो र जलवायुमैत्री बनाउन वैज्ञानिक अध्ययन आवश्यक देखिएकाले यो काम अघि बढाइएको आयोजनाले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा बहाव क्षेत्र निर्धारण तथा अध्ययन कार्य सम्पन्न भएको छ ।
उक्त अध्ययनले नौमुरे बाँध निर्माणपछि पश्चिम राप्ती नदीमा सुक्खायाममा हुन सक्ने पानीको अभाव तथा वर्षायाममा आउने बाढीको प्रभावकारी व्यवस्थापन गर्न सहयोग पुग्ने सूचना अधिकारी वलीले बताए ।
अध्ययनबाट नदी नियन्त्रण, पुल तथा अन्य जलप्रवाहसम्बन्धी संरचनाको डिजाइनमा एकरूपता कायम गर्न सहज हुने र नदीको प्राकृतिक बहाव तथा जलवायु परिवर्तनका असरलाई ध्यानमा राखेर पूर्वाधार निर्माण गर्न सकिने अपेक्षा गरिएको छ । यसबाट नदी नियन्त्रणका संरचना थप दिगो र व्यवस्थित हुने आयोजनाको विश्वास छ ।
यसैगरी, हालसम्म निर्माण भएका नदी नियन्त्रण संरचनाको संरक्षण तथा आगामी योजना व्यवस्थित बनाउन वेबमा आधारित सम्पत्ति व्यवस्थापन प्रणालीसमेत तयार पारिएको छ । उक्त प्रणालीमा निर्माण भएका संरचनाको डिजिटल अभिलेख, तिनबाट समुदायले प्राप्त गरेको लाभ, थप निर्माण गर्नुपर्ने संरचनाको विवरण, अनुमानित लागत र अपेक्षित प्रतिफल समेटिनेछ ।
यसरी संकलित विवरणका आधारमा नदी व्यवस्थापनसम्बन्धी गतिशील गुरुयोजना तयार गरिनेछ । गुरुयोजनाले आगामी दिनमा नदी नियन्त्रण तथा पूर्वाधार निर्माणका योजना छनोट, प्राथमिकता निर्धारण र लगानीलाई पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
