पशुपतिनाथ मन्दिरमा आज एकै दिन देशविदेशबाट १० लाख भक्तजन आउने

काठमाडौं, ६ फागुन । आज महाशिवरात्रि देशैभरि धुमधामकासाथ मनाइँदैछ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभर शिवको पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ ।
आज खास गरी जहाँ जहाँ शिवालय वा शिवलिङ्ग स्थापना गरिएको हुन्छ, त्यहाँ त्यहाँ विशेष भीड लाग्ने गर्दछ । काठमाडौंमा कामपा वडा नं. ८ स्थित गौशालास्थित श्री पशुपतिनाथको मन्दिरमा सबैभन्दा बढी भक्तजनहरूको घुइँचो लागेको छ ।
यस वर्ष शिवरात्रिका अवसरमा आज एक दिनमै पशुपतिमा देशविदेशका गरी १० लाखभन्दा बढी भक्तजनहरू आउने अनुमान गरिएको छ । यो साताभरि पशुपतिमा २० लाख भक्तजन पुग्ने अनुमान छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभएको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।
माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनुभयो । पाँच वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरो लगायत लागू पदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गरिने बताइए पनि पशुपति क्षेत्रमा आइपुगेका साधु सन्तहरू भने भाङ धतुरोमै मस्त भई रमाइरहेका भेटिन्छन् ।
बिहान तीन बजे नै पशुपति खुल्लाः
आज शनिबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्रै पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।
दर्शनको लागि व्यवस्थाः
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर तीन र भित्र पाँच वटा लाइनको व्यवस्था गरिएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकाली लगायतका स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर लगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।
पशुपति आसपास कडा सुरक्षाः
महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । यसको लागि तीन हजारभन्दा बढी पोशाक र त्यतिकै संख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीले समेत एक हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ ।
यस वर्ष कसैलाई पनि मन्दिर प्रवेशको पास दिइएको छैन । यसैगरी पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजालगायत नशालु पदार्थ पूर्णरूपमा बेचबिखन र सेवनसमेतमा प्रतिबन्ध लगाइएको छ ।
दर्शनका क्रममा असहज भएका दर्शनार्थीका लागि ठाउँ–ठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्स लगायतको सेवाका लागि समेत टोली खटाइएको छ । महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा साधु–सन्तको घुइँचो बढिसकेको छ ।
ट्राफिक व्यवस्थाः
महानगरीय ट्राफिक महाशाखाले १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ र यस्तै सिफल चौरबाट जगबागेश्वरीतर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगङ्गाबाट गौशालातर्फ सवारी आवागमन निषेध गरिएको छ ।