मुस्ताङमा बौद्ध कलेज खोल्ने वहानामा गरिएको विदेशी षडयन्त्रको एमाले अध्यक्षको कटाक्ष–‘नेपालको युरेनियममा विदेशीले आँखा लगाउनु खतरनाक’

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरुको खेलमैदान बनाउने योजना अनुसार अघि बढाइएको भन्दै त्यसको कडा विरोध गर्नुभएको छ । उहाँले त्यो राष्ट्रिय हितविरोधी काम भएको वताउनुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा नेकपा एकीकृत समाजवादी निकट स्थानीय तह कर्मचारी संघ, नेपाल नेकपा (एमाले) को जनसंगठन पेशागत महासंघ नेपालमा समाहित भएको कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय स्थापनाका नाममा नेपाललाई विदेशीको खेलमैदान बनाउन लागिएको वताउनुभएको हो ।

नेपालमा रहेको युरेनियममा विदेशीले आँखा लगाइरहेको वताउँदै अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय बहुतै खतरनाक कुरा भएको बताउनुभयो । ‘मुस्ताङमा विश्वविद्यालय (मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो,’ उहाँले भन्नुभयो, ‘मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो । २०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजिएको हो । आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधिनतालाई अस्वीकार गरेको हो ।’

अध्यक्ष ओलीले वर्तमान सरकार विदेशी मालिक खुशी पार्न तल्लिन रहेको वताउँदै नेपाली नागरिकको भान्सा भान्सामा पुग्ने भारतीय तरकारीमा विषादी छ छैन जाँच गर्न नपर्ने निर्णय विदेशीलाई खुशी पार्ने योजना अन्तर्गत भएको स्पष्ट गर्नुभयो ।

अध्यक्ष ओलीले नेपालीलाई विषादीयुक्त तरकारी खुवाउने निर्णयको विरोध गर्नुुपर्ने वताउनुभयो । देश र जनताको हित विरूद्धका काम गर्दै जान अहिले सरकारमा बस्नेहरूलाई लाजसरम नलाग्ने उहाँको भनाइ छ ।

आठ दलीय गठबन्धन भन्नेहरूको विचार, दृष्टिकोण र कहाँ जाने भन्ने नै नरहेको वताउँदै अध्यक्ष ओलीले परिवर्तन नचाहने प्रतिक्रियावादी शक्तिहरु यथास्थिति चाहन्छन् र राम्रो देखिन कपटी भाषा बोल्छन् भन्नुभयो ।

जनतालाई सही बाटोमा लाग्नबाट रोक्न उनीहरु जनतालाई भ्रममा पार्ने गरेको वताउँदै अध्यक्ष ओलीले यो राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति नेकपा (एमाले) मा सबै गोलबन्द भएर काम गर्नुपर्छ भन्नुभयो ।

आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघका अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरूलाई खादा र टीका लगाई स्वागत गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष ओलीले पुरानै घर नेकपा (एमाले) मा फर्किएर अत्यन्तै सही निर्णय गरेको र पार्टीमा सबैले विना भेदभाव काम गर्ने अवसर पाउने वताउनुभयो । अध्यक्ष ओलीले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका लेखा परीक्षण आयोगका सचिवसमेत रहनुभएका संघका अध्यक्ष श्रेष्ठले स्थानीय तह कर्मचारी संघ, नेपाल नेकपा ९एमाले० को जनसंगठन पेशागत महासंघ नेपालमा समाहित भएको घोषणा गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले नेकपा एकीकृत समाजवादी दिनप्रतिदिन स्खलन हुँदै दक्षिणपन्थी भासतर्फ अगाडि बढिरहेकाले आफूहरू नेकपा ९एमाले० मै फर्किएको वताउनुभयो । उहाँले गएको निर्वाचनमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धा गरेको भए एमालेले बहुमत ल्याउने अवस्था रहेको तर नेकपा एसमा रहेर नेपाली काँग्रेसलाई ठूलो पार्टी बनाउने काम गर्नुपरेकोमा ग्लानी महशुस भएको वताउनुभयो ।

कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पेशागत महासंघ नेपालका अध्यक्ष बाबुराम थापाले महासंघमा समाहित स्थानीय तह कर्मचारी संघ, नेपालका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *