सेतो मत्स्येन्द्रनाथ जात्राको तयारी
काठमाडौं, ९ चैत । पाहाँ चःह्रेको खट जात्रा सम्पन्न भए सँगै अब काठमाडौंमा जनबहाःद्यः (सेतो मत्स्येन्द्रनाथ) को रथ जात्रा शुरु हुँदैछ । यो रथ जात्राको लागि काठमाडौंको जमलमा रथ बनाउने कार्य पनि शुरु भइसकेको छ ।
सेतो मत्स्येन्द्रनाथको रथ जात्रा यही आउँदो चैत्र १५ गते शुरु हुँदैछ ।
सेतो मत्स्येन्द्रनाथको मन्दिर काठमाडौंको केल टोलमा रहेको छ भने वर्षेनी यसको जात्रा जमल तीनधाराबाट शुरु गरिन्छ ।
प्राचीनकालमा सेतो मत्स्येन्द्रनाथको मूर्ति जमलमै भेटिएको थियो भने त्यसलाई पछि हालको केल टोलस्थित कनकचैत्य महाविहारमा स्थापना गरिएको थियो । जमलमा भेटिएको मूर्ति भएको कारणले सेतो मत्स्येन्द्रनाथलाई ‘जमलेश्वर’ पनि भन्ने गरिन्छ ।
त्यही कारणले यो देवताको जात्रा पनि जमलबाटै शुरु गरिएको मानिन्छ । ३२ फिट अग्लो रथमा मत्स्येन्द्रनाथलाई विराजमान गराई चलाइने यो रथयात्रा जमलबाट शुरु भई लगन टोलमा पुगे पछि समाप्त हुन्छ । जात्रा एक सातासम्म चलाइन्छ ।
राष्ट्रपतिलाई निम्तो
यसै बीच सेतो मत्स्येन्द्रनाथको रथ यात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा दिइएको छ ।
सेतो मत्स्येन्द्रनाथ जात्रा व्यवस्थापन समितिका पदाधिकारीहरु राष्ट्रपति भवन शितल निवास पुगी राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र दिएको हो । निमन्त्रणा पत्रमा राष्ट्रपतिलाई जात्राको पहिलो दिन सहभागी हुनका लागि अनुरोध गरिएको छ ।
जात्राको पहिलो दिन सेतो मत्स्येन्द्रनाथको रथलाई जमलबाट तानेर असन टोलमा पु¥याइन्छ । राष्ट्रपतिलाई असनमै सहभागी हुन निमन्त्रण गरिएको हो ।
राष्ट्रपतिको सवारी हुँदा जात्रालुहरूलाई कुनै समस्या नहोस् भनी उहाँलाई बेलुकी ९ः३० बजेको समय मिलाइएको छ । साथै राष्ट्रपतिको सवारी हुँदा रथ वरिपरि देवाबत्ती बालिरहेका कुनै पनि भक्तजनलाई अवरोध नहुने गरी व्यवस्था मिलाउने पनि बताइएको छ ।
