मोरङको एउटै परीक्षा केन्द्रबाट ५२ जना एसईईका नक्कली परीक्षार्थी पक्राउ

मोरङ, २३ चैत्र । मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट ५२ जना एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट विहीबार बिहान सामाजिक विषयको परीक्षा दिदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए।

डिएसपी दाहालका अनुसार ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ भने,‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ।’

सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ। ‘प्रवेशपत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिए। भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्राअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले भने ।

नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको लुईटेलले बताए । सरस्वती स्कुलमा ११ वटा कोठामा परीक्षा भइरहेको छ। ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो।