हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं, २४ चैत । कामपा वडा नं. ५ स्थित हाँडीगाउँमा चलाउने रमाइलो ‘गहना खोज्ने जात्रा’ आज सम्पन्न भयो । स्थानीय नेपालभाषामा यसलाई ‘तिसा मालेगु जात्रा’ भनिन्छ ।

यो मूलतः टुँडालदेवीको जात्रा हो । टुँडालदेवीलाई स्थानीय भाषामा त्वलं अजिमा भनिन्छ । हाँडीगाउँमा क्षेत्रमा शुरुमा भाटभटेनीको जात्रा हुन्छ । भाटभटेनीलाई टुँडालदेवीको मन्दिरमा पुर्याएपछि टुँडालदेवीको पनि जात्रा गरिन्छ ।

माइती आएकी टुँडालदेवीको गहना पोखरीमा खसेर हराएकोले त्यसैलाई खोज्न यो जात्रा चलाएको मानिन्छ ।

यसमा टुँडालदेवीलाई खटमा राखी हाँडीगाउँस्थित गहना पोखरीमै हुल्ने गरिन्छ । पोखरीको पानीमै खट लगेर पोखरीको परिक्रमा गरी यो जात्रा चलाइन्छ ।
यही बेला स्थानीय इन्द्रायणी र ब्रम्हायणीको खटलाई पनि पोखरीमा लगेर राखिन्छ ।

यो जात्रालाई ऐतिहासिक हाँडीगाउँ क्षेत्रको सबैभन्दा पूरानो जात्राका रुपमा लिने गरिन्छ ।