भक्तपुरमा शुरु भयो बिस्काः जात्रा

भक्तपुर, २८ चैत । भक्तपुरको सबैभन्दा ठूलो जात्रा बिस्काः जात्रा शुरु भएको छ । हिजोदेखि भक्तपुरमा बिस्काः जात्रा शुरु भएको हो ।

न्यातपौ देगः क्षेत्रबाट भैरवको रथ तानेर यो जात्रा शुरु गरिन्छ । यो भक्तपुरको सबैभन्दा ठूलो र मौलिक जात्रा हो । यो जात्रामा भैरवको रथलाई न्यातपौ देगः क्षेत्रबाट माथिल्लो भेग र तल्लो भेग गरी दुई तिर तान्ने गरिन्छ ।

यसरी दुईतिरका मानिसहरूले रथ तान्ने गरेपछि कहिलेकाहीं एक आपसमा झगडा भई ढुंगा हानाहान समेत हुने गर्दछ । भक्तपुरको बिस्काः जात्रा ढुंगा हानहानका लागि पनि प्रख्यात छ ।

जात्रामा ढुंगा हानाहान जस्तो कुनै पनि झैंझगडा नहोस् भनी हरेक वर्ष झैं यो वर्ष पनि भक्तपुर नगरपालिका लगायत विभिन्न सामाजिक संस्थाहरूले सद्भाव र्याली आयोजना गरी शिष्ट रुपमा जात्रा मनाउन आह्वान गरेका थिए ।

भक्तपुरमा हुने यो जात्रा अवलोकन गर्न उपत्यकाका विभिन्न नगरबाट समेत श्रद्धालुहरू भक्तपुर पुग्ने गर्दछन् ।

यही जात्राका क्रममा चैत महिनाको अन्तिम दिन भक्तपुरमा लिङ्गो उठाउने गरिन्छ । भक्तपुरको लिङ्गोलाई स्थानीय नेपालभाषामा यःसिं भनिन्छ भने संस्कृतमा विश्वध्वज भनिन्छ ।

चैतको अन्तिम दिन उठाइने यो यःसिं भोलिपल्ट नयाँ वर्षका दिन ढाल्ने गरिन्छ ।

तस्बिरहरुः सन्देश मुनिकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *