भारतमा लगेर महिलालाई यौन व्यवसायमा लगाउने सोनाम भन्ने हेरिङडोल्मा पक्राउ
काठमाडाैं, २९ चैत्र । आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत महिलालाई भारतमा पुर्याएर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
नेपालबाट महिलालाई खरिद गरेर ललाइफकाई भारतमा पुर्याउने दलाल छ वर्षपछि नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो ।
उनी भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङ हुन् । नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा शनिबार पक्राउ गरिएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सोमबार नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।