नक्कली नेपाली रुपैयाँ ४ लाख ८६ हजारसहित वीरगंजबाट दुई जना पक्राउ
पर्सा, २१ वैशाख । पर्साकाे वीरगंज महानगरपालिकाबाट नक्कली नेपाली रुपैयाँ ४ लाख ८६ हजारसहित दुई जना पक्राउ परेका छन् ।
बुधबार वीरगंज -१६ चालिसफिटे सडकबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका-३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीबाट उक्त नक्कली नोटसहित चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
प्रहरीले नक्कली नेपाली रूपैयाँ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।