प्रधानमन्त्री र सभामुखबिच भेट, के–के भयो कुराकानी ?
काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको छ ।
‘आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु,’ भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।’
भेटमा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुभएको थियो । ‘आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएका छन् । संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’