तीन शीर्ष नेताहरु सदन सञ्चालनका लागि छलफलमा
काठमाडौं, १३ जेठ । प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदन सञ्चालन तथा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुट्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी हुनुहुन्छ ।
सत्तापक्ष नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलकाे जलहरी राखेकाे कपाेकल्पित र भ्रामक आराेप लगाएका थिए ।
हिजाेकाे संसद छलफलमा एमालेले सांसद लेखनाथ दाहालले लगाएको आरोप पुष्टि गर्नुपर्ने र यसको जवाफ सरकारले दिनुपर्ने अडान राखेर संसद अवरोध गरेका थिए । त्यस लगतै छलफलमा सांसद दाहालले माफी मागेर बैठक रेकर्ड हटाउन सुझाएका थिए ।
हिजाेकाे संसद बैठक असमझदारीबीच प्रभावित भएको थियाे ।