बागलुङको गलकोटमा नगर अस्पताल सञ्चालनपछि गाउँमै विशेषज्ञ सेवा
बागलुङ, १४ जेठ । बागलुङको गलकोट स्थित नगर अस्पतालमा पछिल्लो समय नागरिकको विश्वास बढ्दै गएको छ । पछिल्लो केही महिनायता बिरामी हुनेबित्तिकै गलकोट बाहिर जानेको सङ्ख्या कम हुँदै गएकाे हाे ।
बागलुङको गलकोट क्षेत्रमा केही समयअघि कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुर्याइन्थ्यो । यहाँ स्वास्थ्य संस्था नभएर होइन, नागरिकले विश्वास नगर्दा गलकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जाने गर्दथे । नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् ।
अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको छ । नगरकार्यपालिकाको पुस १७ को निर्णयानुसार वडा नं ५ को हरिचौरमा नगर अस्पताल सञ्चालनमा आएपछि दुर्गम गाउँका बिरामीले पनि विशेषज्ञ सेवा पाएका छन् ।
हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक एक जना मेडिकल अधिकृत, नर्सिङ छ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोग्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन् ।
नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको हो । अहिले अस्पतालमा विशेषज्ञ डा राजेश पौडेल र डा मनोज कार्कीले सेवा दिइराख्नुभएको छ ।
नगर अस्पताल प्रमुख डा राजेश पौडेलले पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढिरहेको बताउनुभयो । आफू माघ महिनामा आएको सुनाउँदै त्यसयता धेरै दीर्घ तथा अन्य रोगका बिरामीले सेवा लिएको बताउनुभयो । सेवालाई प्रभावकारी बनाउन र घरआँगनकै अस्पतालबाट गुणस्तरी सेवा दिन अस्पताल प्रशासन गम्भीर बनेर लागेको बताउनुभयो ।
पहिले मासिक तीन सय ५० बिरामी आउने गरेको अस्पतालमा अहिले एकै दिन एक सय ५० बढी बिरामीले सेवा लिने गरेको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा चौबीसै घण्टा ‘इमर्जेन्सी’ सेवा, भिडियो एक्सेर, पोष्टमार्टम, प्रसूति सेवा, डिभियो एक्सरे, दन्तरोगको उपचारलगायतका सेवा प्रभावकारी भइरहेका छन् । अस्पतालमा एक एमडीजिपी (जनरल फिजिसिन) र एक एमबीबीएस डाक्टरले सेवा दिन थालेपछि बिरामी पोखरा, काठमाडौँ जानुपर्ने समस्याबाट मुक्त भएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताउनुभयो ।
उहाँले पछिल्लो समय गलकोट नगरपालिका बाहेक ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, गुल्मीको मुसिकोट नगरपालिकालगायतबाट बिरामी आउन थालेको बताउनुभयो । अस्पताल व्यवस्थापन गर्नका लागि नगरपालिकाको आन्तरिक स्रोत र प्रदेश सरकारबाटै सहयोग भइरहेको अध्यक्ष हमालले बताउनुभयो ।
“नगर अस्पताल सञ्चालनमा आएपछि धेरै नागरिकलाई सहज भएको छ, पहिले हजारौँ पैसा खर्च गरेर टाढाका अस्पतालमा पुग्न बाध्य थिए, अहिले निःशुल्करूपमा नजिककै अस्पतालबाट सेवा लिन पाएका छन्”, अध्यक्ष हमालले भन्नुभयो, “अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान भइरहेको छ, एमडिजिपी, एमबीबीएस डाक्टर आएपछि सेवा राम्रो भएको छ, पहिला बिरामीलाई भर्ना गरेर राख्ने व्यवस्था थिएन, अहिले यही राखेर उपचार गरिन्छ, एम्बुलेन्स सेवा थिएन, अहिले व्यवस्थित भएको छ ।”
स्थानीय सुनिल विकले नगर अस्पताल सञ्चालनमा आएपछि गरिब नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन थालेको बताउनुभयो । पहिले गाउँमा कोही बिरामी हुँद ऋण खोजेर पोखरा काठमाडौँ पुर्याउने गरेको भन्दै अहिले गाउँ नजिकैको अस्पतालमा उपचार गराउन पाउँद खुसी लागेको बताउनुभयो ।
नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदानसँगै चालु आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र उपचार उनीहरूको घर–घर पुगेर गर्न थालेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । नगरपालिकाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउन थालेको भण्डारीको भनाइ छ ।