पूर्व गभर्नरद्वयका नजरमा गोविन्दबहादुर थापा र ‘निलो सारी’ कथा

काठमाडौं, २१ जेठ । २००५ साल कात्तिक १६ गते कास्कीमा जन्मिनु भएका डाक्टर गोविन्दबहादुर थापा कोभिड महामारीको चपेटामा परी २०७८ साल जेठ १८ गते यो धर्तीबाट सधैँका लागि अलप हुनुभयो । आफ्नो सम्पूर्ण जीवन नै अध्ययन, लेखन, चिन्तन र राष्ट्रसेवामा समर्पण गर्नुभएका थापाले ज्युँदो छदाँ लेखेका लेखहरुको संकलन ‘अर्थतन्त्रको आँखीझ्याल’ उहाँको दोस्रो स्मृति दिवसको अवसर पारेर विमोचन भयो । उहाँका ६१ वटा लेखहरुको सँगालोमा मुख्य गरेर आर्थिक क्षेत्रसँग सम्बन्धित लेखहरु समावेश गरिएको छ ।

पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डे, थापाकी धर्मपत्नी एवं डा. गोविन्दबहादुर थापा स्मृति प्रतिष्ठानकी अध्यक्ष इन्दिरा थापालगायतले संयुक्तरुपमा विमोचन गर्नुभयो । पुस्तक लोकार्पण कार्यक्रमा थापाको जीवनका आयामबारे वक्ताहरुले चर्चा गरेका थिए । लामो समय राष्ट्र बैंकको सेवामा रहेर अवकाश हुनुभएका थापाका दौँतरी समेत रहनु भएका पूर्व गभर्नर दीपेन्द्र क्षेत्री र विजयनाथ भट्टराईले ‘अर्थतन्त्रको आँखिझ्याल’को चर्चा गर्दै थापासँगको विगतबारे यसरी चर्चा गर्नुभयो ।

गोविन्दजीले मातृभूमिमा इन्दिराका लागि ‘निलो सारी’ कथा लेखे 

दीपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर नेपाल राष्ट्र बैंक

गोविन्दबहादुर थापासँग एसएलसीदेखि नेपाल राष्ट्र बैंकको सेवामा रहेर निवृत्ति भइन्जेलसम्म सँगै भइयो । त्यसैले हामी दुइको सम्बन्धको निकै लामो कालखण्ड छ । हामी विक्रम सम्बत २०३४ सालमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका हौँ । हाम्रो समूहमा लामो सयय केशव आचार्य पनि हुनुहुन्थ्यो । गोविन्दबहादुर थापा सायद २०३६ सालमा राष्ट्र बैंकमा प्रवेश गर्नुभएको हो भन्ने लागेको छ । त्यसपछि अनवरतरुपमा हामी सेवामा रहर्यौँ ।

गोविन्दबहादुरसँग विश्वविद्यालय अध्यय गर्दाका रमाइला पलहरु पनि अहिले मेरो मानसपटलमा छन् । आज उहाँको सम्झनामा ‘अर्थतन्त्रको आँखीझ्याल’ विमोचन गर्दैगर्दा मलाई गोविन्दजीको बहुआयमिक व्यत्तित्वको सम्झना भैरहेको छ । उहाँ कथा लेखनमा पनि पोख्त हुनुहुन्थ्यो ।

अहिले उहाँको धर्मपत्नी इन्दिरा यहाँ हुनुहुन्छ । उहाँ अलिक भावुक हुनुहोला कि भन्ने डर पनि लागिरहेको छ । त्यतिबेला गोविन्दजी र इन्दिराजीको भर्खर–भर्खरको सम्बन्ध रहेछ । त्यतिबेला मातृभूमिमा ‘निलो सारी’ भनेर गोविन्दजीले लेखेको कथा सायद अहिले पनि सुरक्षित होला भन्ने लागेको छ । त्यसको संकलन निकाल्नुपर्छ । उहाँले त्यतिबेलादेखि नै सञ्चार क्षेत्रमा साहित्यिक कलम चलाएको मलाई याद छ । उहाँका ती संकलनहरु निकाल्न सकियो भने उहाँमाथि न्याय हुन्छ होला जस्तो लाग्छ ।

उहाँसँग पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत छदाँका केही स्मरणहरु पनि मेरो मानसपटलमा ताजा छन् । हामी दुबै जना क्षेत्रीका छोराहरु, एकै ठाउँमा चल्ने, खेल्ने, पढ्ने भएकाले कतिपय विद्यार्थीले त ‘ए गोविन्द’ भनेर मलाई सम्वोधन गर्थे । म दीपेन्द्र हुँ भनेपछि हत्तेरी ! मलाई त्यस्तै लाग्यो क्या ! भन्थे । हामीले त्यतिबेला गरेको एउटा बिठ्याइँको पनि याद छ । अन्तिम परीक्षामा धाँदली भयो ।

हामीले त्यतिबेला विद्रोह गर्यौ । त्यतिबेला करीब २ सय ७७ जना विद्यार्थीहरु कारबाहीमा परे । त्यतिबेला हामी दुबै जना कारबाहीमा परेका थियौँ । कारबाहीपछि पनि हामीले त्यतिबेला आन्दोलनलाई जारी राखेका थियौँ । गोविन्दजी पक्राउ समेत पर्नुभएको थियो । मचाँहि त्यहाँबाट भागेर काठमाडौँ आएँ । पछि स्नातकोत्तर अध्ययनका सिलसिलामा पनि हामी दुबै जना सँगसँगै बसेका थियौँ । त्यतिबेला पञ्चायतको चर्को दमन थियो । भुगोलपार्कमा आएर पीपलबोटनेर उँभिएर ‘साथीहरु हो’ मात्रै भन्नुपथ्र्यो ।

त्यहाँ सीआइडीहरु बसेका हुँदा रहेछन् । झ्यापझुप पक्राउ गरेर लगि हाल्थ्यो । एक पटक हामीले रञ्जना हलबाट सिनेमा हेरेर निस्किनेहरुको हुलमा मिसिएर ‘साथीहरु’ मात्रै के भनेका थियौँ । पुलिसहरुले झ्यापझुप पारिहाले । हामी त्यसपछि अर्को रणनीति बनायौँ । पीपलबोटमा विरोध गर्ने अनि झोँछेतिरको गल्लीमा भाग्ने र आफूले लगाएको कपडा ‘चेन्ज’ प्रहरी खोजको खोजेकै । हामीले यस्ता अध्याँरो, उज्यालो, उकाली–ओराली, बादल, घाम सबै कुराको प्रतिकार गर्ने सिलसिलामा गरेका हर्कतको अहिले पनि याद छ ।

हामी अलिक हुल्याहा पनि रहेछौँ क्यारे ! राष्ट्र बैंकमा आएपछि युवराज खतिवडा, केशव आचार्य, कृष्णबहादुर मानन्धरलगायतले मोफसलका कार्यालयमा जानु परेन । मभन्दा एक वर्ष अघि मात्रै गोविन्दजी राष्ट्र बैंकबाट अवकाश हुनुभएको हो । त्यसपछि हामी आ–आफ्नो काममा लाग्यौँ ।

गोविन्दजीका बारेमा भन्नुपर्दा उहाँबाट बढो सम्वेदनशील खालका कुराहरु पनि मुखरित हुन्थे । अर्थमन्त्रालयमा सल्लाहकारका रुपमा जानुभयो । एक–दुई दिनमा सरकार ढल्छ भन्ने भएपछि उहाँ हामी भन्दा पनि मापाको मान्छेको फेला पर्नुभएछ । महाराजगञ्जमा पत्रिका किन्दाकिन्दै ‘ए’ भनेर के–के निहुँ खोज्न थालेछ क्यारे ! त्यसपछि त्यहाँबाट हिड्नभयो । त्यसपछि केही दिन त परिवारका सदस्यलाई समेत थाहा नभएको भन्ने कुरा आयो ।

केशवजीलाई सत्यन्द्रजीले ‘ए तिम्रो साथी हुनुहुन्न, कता जानु भयो, लौ न खोजि गर्नु पर्यो’ भन्नुभएछ । केशवजीले मलाई र मैले इन्दिराजीलाई सम्पर्क गरेँ । पछि म घरै गएँ । उहाँ घरमै भेटिनुभयो, त्यस्तो पनि भएको छ । यी सबै कुरा हेर्ने हो भने उहाँ एटा जुझारु मान्छे हो । झापा विद्रोह सुरु भएपछि ‘लु अब विद्रोह सुरु भयो,अब नेपालमा केही हुन्छ है’ भन्दै निकै खुशी हुनुभएको थियो । त्यो घटना पनि मलाई याद छ ।

सरकारी वित्तका लागि गोविन्द ज्ञाता थिए

विजयनाथ भट्टराई, पूर्व गभर्नर नेपाल राष्ट्र बैंक

मैले गोविन्दबहादुरलाई चिनेको राष्ट्र बैंकमा आएपछि नै हो । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागमा कार्यरत रहँदा उहाँले धेरै जसो सरकार वित्त नै हेर्नुहुन्थ्यो । मलाई यहाँ यसो भन्दै गर्दा गौरव लाग्छ– गोविन्दबहादुर सरकारी वित्तको नेपालका लागि एउटा ज्ञाता नै हो । वास्तवमा सरकारी वित्त सम्बन्धि कुनै पनि जानकारी चाहियो, कुनै कुरा बुझिएन र हामीलाई अप्ठ्यारो पर्यो भने उहाँसँग नै गएर सरसल्लाह गरेर सोध्ने गथ्र्यौ ।

नेपालको अर्थव्यवस्थाको अझ सरकारी वित्तको जुन खालको भाँडभैलो स्थिति अहिले देखिन्छ नि ? मलाई कताकता लाग्छ । गोविन्दजी जस्तो मान्छे भएको भए सायद त्यो क्षेत्रका मान्छेहरुको अलिक बुद्धि आउँथ्यो कि ? भन्ने लाग्छ । उहाँको सबै भन्दा राम्रो गुण भनेको मनमा लागेपछि लेखिहाल्ने थियो । उहाँ लेखेपछि प्रकाशन पनि गरिहाल्नु हुन्थ्यो । सरकारी वित्त सम्वन्धनमा उहाँले धेरै राम्रो कुराहरु छाडेर जानु भएको छ । सरकारले अवलम्बन गर्ने नीतिहरु र करका बारेमा पनि उहाँले धेरै कुरा दिएर जानु भएको छ । त्यतिबेला उहाँका लेख, रचनाहरुबाट नीति–निर्माताहरुमा धेरै नै सहयोग पुगेको अनुमान गरेको छु । पछि उहाँ एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक भएर फिलिपिन्सको मनिला जानुभयो ।

उहाँ मनिलामै रहेका बेला म राष्ट्र बैंकका तर्फबाट मनिला गएको थिएँ । त्यसपछि उहाँ फर्केर आएपछि पनि उहाँसँग बेलाबेलामा सम्पर्क भैरहेको थियो । नेपालको आर्थिक दुरावस्था, अस्थिरतालगायतका विषयमा पनि उहाँसँग कुराकानी भै रहन्थे । यी कुरामा उहाँ आफूले जानको, सुनेको, मनमा लागेको कुरा अनुभव साटासाट गर्नुहुन्थ्यो । त्यो उहाँको सम्झनलायक सकारात्मक बानी हो ।

दूर्भाग्यवस, पछिल्लो सयम मैले उहाँलाई लामो सयम सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । त्यस्तो हुन रहेछ । पछि अरुतिरबाट बुझ्दा उहाँ कोरोना भएर हस्पिटलमा हुनुहुँदो रहेछ । उहाँको अवस्था ठीक नभएको जानकारी पाएँ । त्यसको केही दिनपछि उहाँको देहावसान भएको नरमाइलो र नमिठो जानकारी प्राप्त भयो ।

उहाँको देवावसान उहाँको परिवारका लागि मात्रै होइन पूरै राष्ट्रका लागि अपुरणीय क्षति हो । किनभने, सरकारी वित्तको त्यति ठूलो ज्ञाता राष्ट्रका लागि आवश्यक थियो । बुद्धिको खडेरी लागेको यो बेलामा उहाँ बाँचिरहनु भएको भए सायद नेपालको अर्थतन्त्रमा उहाँको ठूलो योगदान रहिरहने थियो भन्ने लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *