बागलुङको गलकोटमा असार नलाग्दै रोपाइँको चटारो

बागलुङ, २१ जेठ । बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा छिट्टै रोपाइँ हुने गरेकाे छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गलकोटको दुदिलाभाटी, नरेठाँटी र हरिचौरमा रोपाइँ सुरु भएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो । “खोलाको पानी चिसो हुने ठाउँमा जेठको पहिलो सातादेखि रोपाइँ सुरु भयो, केही फाँटमा भने जेठको अन्तिम सातादेखि रोपाइँ हुन्छ”, भण्डारीले भन्नुभयो, “गलकोटमा औसत रोपाइँ जेठमै हुन्छ ।”

कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको बताउनुभयो । गलकोटमा भइरहेको रोपाइँ धेरै छिटो र बीउ कलिलो भएकाले उत्पादनमा क्षति हुने उहाँको धारणा छ ।

नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि कहिलेकाहीँ भने अलि छिट्टै मनसुन सक्रिय हुने गर्छ । कृषि ज्ञान केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।

बागलुङको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । असार लागेपछि रोपाइँ भएको क्षेत्रको विश्लेषण गरेर नियमित तथ्याङ्क निकाल्ने गरिएको छ । जिल्लाको कूल छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *