प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री भट्टराईविरुद्धको युद्ध अपराधकाे मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडाैं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि सर्वोच्च अदालतमा कारबाहीको माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

तत्कालीन विद्रोही माओवादीले बालसेनाको रुपमा प्रयोग गरेकालाई जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै लेनिन विष्टले दाहाल र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

साेही मुद्दाको रिटको सुनुवाइ आज न्यायाधीश सपना प्रधान मल्लको बेन्चमा परेको हाे।

सशस्त्र युद्धताका बालसेना रहेका विष्ट पछि अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका थिए। यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै दरपीठ गरिदिएको थियो।

दरपीठविरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार आइतबार रिट दर्ता भएको हो।

दुबै नेतालाई युद्ध अपराधमा कारबाहीको माग गरिएको रिटमा दाहालको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बन गर्नुपर्ने जिकीर पनि गरिएको छ। विष्टले रिटमा आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न समेत आदेशको माग गरेका छन्।

यसअघि पनि द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध परेको अर्को मुद्दा सर्वोच्चमा विचाराधीन छ। यसअघि फागुन २३ गते प्रधानमन्त्री दाहाललाई विपक्षी बनाएर दायर मुद्दा सर्वोच्चमा विचाराधीन छ।