सङ्घीय शिक्षा विधेयक चाँडै सदनमा पेस हुने आशा छ : सभामुख घिमिरे

काठमाडाैं,३२ जेठ । प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले सरकारले सङ्घीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आजदेखि भृकृटीमण्डपमा सुरु भएको ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै सभामुख घिमिरेले सङ्घीय शिक्षा विधेयक चाँडै सदनमा पेस हुने आशा व्यक्त गर्नुभएको हो ।

उहाँले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयको खाँचो भएकाे भन्दै शैक्षिक क्षेत्रमा चासो र प्रतीक्षा भएकाले उक्त विधेयक चालु अधिवेशनमै आउने बताउनुभयाे ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य रञ्जु झा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो ।

मेलामा विद्यालय तहका संस्था, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कक्ष छन् ।