युवा संघ महानगरको आयोजनामा स्लो बाइक/ स्कुटी प्रतियोगिता, प्रथम पुरस्कार ३२ हजार
काठमाडौं, ३ असार । युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले अन्तर वडास्तरीय स्लो बाइक/स्कुटी प्रतियोगिता गरेको छ । युवा संघले ‘स्लो राइड लङ लाइफ’ भन्ने नारासहित सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले यस्तो प्रतियोगिताको आयोजना गरेको हो ।
१८ वर्ष उमेर पूरा गरी ४० नकटेका युवाहरुको सहभागिता रहेको प्रतियोगितामा कूल १ सय ८० प्रतिस्पर्धीको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा राजकुमार कार्की प्रथम, सुजार तामाङ द्वितीय र चन्द्रमान तामाङ तृतीय भएको युवा संघले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुनेले ३२ हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।
युवा संघ नेपाल काठमाडौं महानगर कमिटी अध्यक्ष दीपेश सुधाकार दुर्घटना न्यूनिकरणका लागि जनचेतना फैलाउनका साथै युवाहरुलाई युवा संघप्रति आकर्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताउनुहुन्छ । कार्यक्रमका विजयी प्रतिस्पर्धीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) काठमाडौँ महानगरका इञ्चार्ज एवं पूर्व प्रदेशमन्त्री रामेश्वर फुयाँल, काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्य, महानगर अध्यक्ष निर्मल देउला, राष्ट्रिय युवा संघ नेपाल उपाध्यक्ष सिता सुवेदी ,केन्द्रीय सचिव खेमराज शर्मालगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । आगामी निर्वाचनम युवापुस्ता लक्षित भन्ने नारासहित अहिले युवा संघले युवा लक्षित कार्यक्रम गर्दै आएको छ ।
