तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायी चिन्तित, कूटनीतिक पहल गर्न माग

सिन्धुपाल्चोक, १ मङ्सिर । नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा उद्योगी तथा व्यवसायी चिन्तित बनेका छन् । लामो समयदेखि नाका अवरुद्ध हुँदा व्यापार–व्यवसाय प्रभावित भएको भन्दै उनीहरूले सरकारसँग तत्काल नाका खुलाउन कूटनीतिक पहल गर्न माग गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियामा सहभागी उद्योगी, व्यवसायी तथा स्थानीय जनप्रतिनिधिले नाका सञ्चालनका लागि चीन सरकारसँग उच्चस्तरीय वार्ता गर्न आग्रह गरेका हुन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले नाका नियमित सञ्चालनमा नआउँदा व्यवसायी निराश भएको बताउँदै सरकारले प्रभावकारी पहल नगरे यस क्षेत्रको व्यापार थप सङ्कटमा पर्ने उल्लेख गर्नुभयो ।

व्यवसायीहरूले तातोपानी नाकाका लागि पठाइएको सामान नाकामा पुग्ने बेलामा अचानक बन्द हुने र केरुङ नाका हुँदै सामान लैजाँदा पनि विभिन्न समस्या भोग्नुपरेको बताएका छन् ।

नेपाल ट्रान्स–हिमालयन सीमा व्यापार सङ्घका प्रतिनिधि रामचन्द्र पौडासैनीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा चीनस्थित नेपाली राजदूतमार्फत प्रत्यक्ष कूटनीतिक संवाद अघि बढाउनुपर्ने बताउनुभयो । आवश्यक परे सरकारी प्रतिनिधिमण्डल नै चीन पठाएर नाका सञ्चालनबारे वार्ता गर्नुपर्ने उहाँको सुझाव छ ।

व्यवसायीहरूले नाका क्षेत्रमा पहिरो नियन्त्रण, सडक स्तरोन्नति र नेपाल–चीन सरकारबीचको समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सांसद पराजुलीले सरोकारवालाका समस्या र सुझाव सरकारसमक्ष पुर्‍याउन अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो । उहाँले तातोपानी नाकाको अवस्थाबारे स्थलगत अवलोकन गरेको उल्लेख गर्दै चीनले भूकम्पबाट क्षतिग्रस्त खासा क्षेत्रलाई आधुनिक ‘स्मार्ट सिटी’का रूपमा विकास गरिरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *