बागलुङमा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

बागलुङ, ६ असार । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान ८ बजे गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीका अनुसार जीप सडकबाट पाँच सय मिटर तल खसेको छ । जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको डिएसपी केसीले सेतोपाटीलाई जानकारी दिए।

मृत्यु हुनेहरूमा कुश्मा नगरपालिका-१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका-१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने दुर्गा पौडेल छन्।

डिएसपी केसीका अनुसार दुर्घटनाग्रस्त जीप र दुबैको शव सडकबाट पाँच सय मिटर तल खोँचमै रहेको बताए।

प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको जनाएकाे छ ।