काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट
काठमाडौंँ, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोलले आज नगरसभामा सो रकम बराबरको बजेट भाषण गर्नुभएको हो ।
महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरेको छ । महानगरपालिकाले गरिखाने शिक्षा महानगरको इच्छाका लागि पनि बजेट विनियोजन गरेको छ । ‘सामूदायिक विद्यालयमा एक विद्यालय एक नर्स’ कार्यक्रम ल्याएको छ ।
महानगरपालिकाले एम्बुलेन्स खरिद गरी अन्य पालिकालाई दिनका लागि सात करोड विनियोजना गरेको छ । स्वास्थ्यमा काठमाडौं महानगरपालिकाको ९२ करोड बढी बजेट विनियोजन गरेको छ । संकृति, सम्पदा र पर्यटनका लागि २ अर्व १३ करोड ७६ लाख र विषादी परीक्षणका लागि आवश्यक यन्त्र खरिदका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।