मुख्यमन्त्री कार्कीले भने : सर्वदलीय सरकारका लागि तयार छु
विराटनगर, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत माग्नुभएकाे छ ।
प्रदेशसभामा कार्कीले विश्वासको मत माग्नुहुँदै आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयाे,‘विनाकारण प्रदेश संरचनालाई जनताको अगाडि मुखै देखाउन नहुने जुन खालका काम हामीले गरिरहेका छौं साथीहरू । फेरि पनि भोलि यो प्रदेश हुनेछ । प्रदेशसभाको माननीय हुनेछन् । मैले हिजो हुँदा के गरेँ भनेर आत्मसाक्षी राखेर गर्यो भने पछुताउनुपर्नेछ । यो प्रदेश सरकार ९२ जना माननीय र प्रदेशभरका जनताको आफ्नै सरकार हो ।’
आफू मुख्यमन्त्री भएको ६ महिनामा कहिँ पनि नचुकेको भन्दै उहाँले आफूलाई विश्वासको मत नदिए नदिनेहरुप्रति नै अविश्वास पैदा हुने बताउनुभयाे । उहाँले प्रदेश मध्यावधितर्फ जाने भन्दै त्यो खर्चिलो हुने र प्रदेशकै संरचनाप्रति वितृष्णा बढाउने काम हुने बताउनुभयाे ।