कोशीमा ढल्यो एमाले सरकार, हिक्मत कार्कीले पाएनन् विश्वासको मत
विराटनगर, १५ असार । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मतसम्बन्धी राख्नुभएकाे प्रस्ताव अस्वीकृत गरेपछि उहाँ नेतृत्वको सरकार ढलेको हो ।
९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । आजको बैठकमा ८९ सदस्यमात्र उपस्थित हुनुहुन्थ्याे ।
कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाल्नुभएकाे थियाे भने विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हाल्नुभएकाे थियाे । गठबन्धनमा रहनुभएका जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित हुनुहुन्थ्याे ।
कोशीमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । कार्की २०७९ पुस २४ गते नियुक्त हुनुभएकाे थियाे भने उहाँले २५ गते शपथ लिनुभएकाे थियाे ।