वीरगञ्ज महानगरपालिकाले आइईएमआइएस नलिने १५ विद्यालयलाई गर्याे कारबाही

पर्सा, २८ असार । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ वटा विद्यालयलाई कारबाही गरेको छ ।

महानगरपालिकाले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई कारबाही गरिएको हो ।

महानगरपालिकाअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना प्रकाशित गरी आइईएमआइएस नलिएका र लिएर पनि अद्यावधिक नगर्ने पशुपति शिक्षा मन्दिर, पपुलर इङ्लिस बोर्डिङ स्कुल, पिसजोन एकेडेमी, शान्ति निकेतन इङ्लिस प्राइमेरी स्कुल, ज्ञान निकेतन इङ्लिस बोर्डिङ स्कुल, बाबा इङ्लिस बोर्डिङ स्कुल, स्माइल एकेडेमी, श्री नरसिंह पब्लिक इङ्लिस बोर्डिङ स्कुल, वीरगञ्ज पब्लिक सेकेन्ड्ररी स्कुल, नारायणी एकेडेमी, कुमुदिनी एकेडेमी, हंसराज इङ्लिस बोर्डिङ्ग स्कुल, दिव्यप्रकाश एकेडेमी, सुफाह आइडिएल एकेडेमी र सावित्री नेशनल स्कुललाई कारबाहीस्वरुप जरिवाना गरिएको जनाएको छ ।

आइईएमआइएस लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई रु पाँच हजार र नलिएका विद्यालयलाई रु १० हजारका दरले जरिवाना गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो । पहिलो चरणमा जरिवाना मात्र गरिएको र आइईएमआइएस लिन र अद्यावधिक गर्न अटेर गरे थप कारबाही गरिने उहाँले बताउनुभयो ।

यस्तै आइईएमआइएस अद्यावधिक गर्दा गलत तथ्याङ्क प्रविष्ट गर्ने विद्यालयलाई रु १५ हजार जरिवाना गर्ने तयारी गरिएको प्रमुख कर्णको भनाइ छ । कारबाही गरिएका विद्यालयले यही असार ३१ गतेभित्र नियम बमोजिम जरिवाना बुझाएको रसिद र अद्यावधिक गरेको आइईएमआइएसको रसिदसहित शैक्षिक प्रशासन महाशाखामा उपस्थित हुन निर्देशन दिएको उहाँले बताउनुभयो ।