नेप्सेमा सुधार, कारोबार रकम भने घट्याे

काठमाडाैं, ३१ असार । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएकाे छ । यस दिन नेप्से परिसूचक १२.१६ अंक बढेर २०९७.०९ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको अन्तिम कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८६ स्टकको ३९ हजार ३७ पटकको कारोबारमा २ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ बराबरको ७१ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार ३ म्युचुअल फण्डको इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सनराइज फोकस्ड इक्विटी फण्ड, एनआईबिएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डको इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन सिटिजन्स म्युचुअल फण्ड, माछापुच्छ्रे बैंकको ऋणपत्र र ग्रामिण विकास लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य सर्वाधिक ५.९६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको १९ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन लाइफ इन्स्योरेन्सको साढे १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक १.३३ प्रतिशत बढेको छ। अन्य ६ उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।