शेयर बजारमा उच्च अंककाे वृद्धि
काठमाडाैं, १ साउन । सोमबार शेयर बजारमा उच्च अंककाे वृद्धि भएकाे छ । यस दिन नेप्से परिसूचक ४७.०७ अंक बढेर २१४४.१६ विन्दुमा पुगेको छ।
आर्थिक वर्ष २०८०/८१ को पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेसँगै नेप्से बढ्न पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ९.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५२ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ३७ करोडको शेयर कारोबार भएको बजारमा, यस दिन २५७ स्टकको ५० हजार २९९ पटकको कारोबारमा २ अर्ब ५६ करोड १ लाख रुपैयाँ बराबरको ७६ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बिपिडब्लु लघुवित्त वित्तीय संस्था र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन अभियान लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सर्वाधिक मूल्य घट्ने १० स्टकको सूचीमा अधिकांश म्युचुअल फण्ड परेका छन्।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन लाइफ इन्स्योरेन्सको करिब ११ करोडको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।