शेयर बजारमा सामान्य अंक घट्यो नेप्से

काठमाडाैं, ४ साउन । बिहीबार शेयर बजारमा नेप्से सामान्य अंकले घटेको छ । पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर बढेको बजारमा यस दिन सामान्य अंक घटेको हो।

यस दिन नेप्से १.३१ अंक घटेर २१६३.९२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक बढेको छ ।

यस दिन कारोबार रकम पनि सामान्य घटेको छ । यस दिन २६४ स्टकको ५४ हजार ९५४ पटकको कारोबारमा ३ अर्ब ५ करोड २४ लाख १० हजार रुपैयाँ बराबरको ८४ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विशाल बजार कम्पनी र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे । यस दिन सिटिजन्स म्युचुअल फण्ड २ र कुमारी इक्विटी फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।