जनकपुर सुरक्षा अस्पतालमा पाठेघरकाे शल्यक्रिया गर्दा महिलाको मृत्यु, चिकित्सक भागेपछि अस्पतालमा ताला
जनकपुरधाम, ६ साउन । जनकपुरधामको रामानन्दचोकमा सञ्चालित जनकपुर सुरक्षा अस्पतालमा चिकित्सकको लापरवाहीले उपचारको क्रममा महिलाको मृत्यु भएकाे छ ।
जनकपुरधाम उपमहानगरपालिका- १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको पाठेघरमा घाउ भएपछि गत बुधबार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी उनकाे मृत्यु भएको हो । उनको मृत्युपछि आफन्त आन्दोलित छन् । चिकित्सकहरु भने अस्पताल छाडेर भागेका छन् ।
मृतकका भाइ उदयकुमार साहका अनुसार चिकित्सकले शल्यक्रियामा लापरवाही गरेकाले सोनियाको मृत्यु भएको ठहर छ ।
शल्यक्रिया गरिएको दिदीको अबस्था बिग्रिन थालेपछि अस्पतालबाट हामीलाई नसोधी बाहिर लग्न खोजेको थियो’, उदयले भने, ‘हामीलाई त्यतिबेला नै शंका लाग्यो । त्यसपछि हामीले रोकेर हेर्न खोज्दा मृत्यु भइसकेको थियो ।’
घटनापश्चात आफन्तहरू आन्दाेलित भएका छन् । आफन्तहरूले अस्पतालमा प्रदर्शन गरेपछि चिकित्सकहरु अस्पताल छाडेर भागेका छन् । चिकित्सकहरु भागेपछि बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए ।
मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।