मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा उछाल

काठमाडाैं, ७ साउन । मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा नेप्से परिसूचक बढेर बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सर्वाजनिक गरेसँगै नेप्से बढ्न पुगेको हो।

यस दिन नेप्से परिसूचक ६३.२४ अंक बढेर २२२७.२४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५१ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६६ स्टकको ७५ हजार ८६ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड २० लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईबिएल ग्रोथ फण्डको इकाई भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.९८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।