एक दिन पनि टिकेन शेयर बजारकाे उछाल

काठमाडाैं, ८ साउन । साताकाे पहिलाे काराेबारकाे दिन उच्च अंकले बढेकाे नेप्से एक दिन पनि नटिकि झरेकाे छ ।

आइतबार ६३.२४ अंक बढेकाे नेप्से परिसूचक बजारमा यस दिन २६.६६ अंक घटेर २२००.५० विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ६.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ स्टकको ७४ हजार १६१ पटकको कारोबारमा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार किसान लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ७९ रुपैयाँ २० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ।