नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

चितवन, ९ साउन । नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

हिजाे राती परेकाे पानीले गर्दा उक्त सडकखण्डमा पहिराे गएकाे हाे । उक्त सडकखण्ड वर्षाकाे समयमा पटक पटक अवराेध भइरहन्छ ।

प्रहरीका अनुसार पहिरो पन्छाउने काम सुरु गरिए पनि पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्ने एकिन भने हुन सकेकाे छैन । पहिरोका कारण दुवैतर्फका यात्रु अलपत्र परेका छन्।