उत्तरी नाका रसुवागढीमा चहलपहल बढ्यो
रसुवा, ११ साउन । चीनसंग जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।
उक्त नाका हुँदै नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन् ।
तीन महिनाको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको तथ्याङ्क छ । सो अवधिमा पाँच हजार दुई सय ३६ महिलासहित १० हजार छ सय ७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएका अर्यालले बताउनुभयो ।
कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्यदेशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि उक्त नाकामा चहलपहल बढेको छ ।
