नेप्से परिसूचक अन्तिममा आएर ९.२५ अंक बढ्याे

काठमाडाैं, १७ साउन । बुधबार नेप्से परिसूचक बढेर बन्द भएकाे छ । यस दिन नेप्से परिसूचक अन्तिममा आएर ९.२५ अंक बढेर २०८६.८४ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक बढेको छ। यस दिन २६९ स्टकको ३५ हजार ६४५ पटकको कारोबारमा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बराबरको ९३ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार १३७ स्टकको मूल्य बढेको छ। यद्यपि, स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन आरबिबि म्युचुअल फण्ड १ को मूल्य सर्वाधिक ४.१४ प्रतिशत बढेको छ।

त्यसैगरी, सिंगटी हाइड्रो इनर्जी र सिद्धार्थ इक्विटी फण्डको मूल्य ३.८९ प्रतिशत बढेको छ। यस दिन प्रभु स्मार्ट फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।